प्रतिनिधिसभाका माननीय सांसद मनिष झा Meet & Greet
प्रतिनिधिसभाका माननीय सांसद मनिष झा Meet & Greet
आज मधेसी एसोसिएसन अफ अमेरिकाले आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका माननीय सांसद मनिष झा ज्यूलाई भेट्ने तथा विचार आदानप्रदान गर्ने अवसर प्राप्त हुँदा अत्यन्तै खुशी लागेको छ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को तर्फबाट माननीय सांसद मनिष झा ज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेपालको समावेशी लोकतन्त्र, संविधानको मर्म र विभिन्न समुदायका साझा सरोकारका महत्वपूर्ण विषयहरू प्रस्तुत गरियो।
१. ऐतिहासिक योगदानको सम्मान र समावेशिताको संरक्षण
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा समावेशी व्यवस्थाको निर्माणमा आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायले पुर्याएको ऐतिहासिक योगदानलाई राज्यले सम्मान गर्नुपर्छ।
समावेशिता केवल भाषणमा सीमित विषय होइन, राज्यका हरेक तहमा सम्मानजनक प्रतिनिधित्व, समान अवसर र न्याय सुनिश्चित गर्ने आधार हो भन्ने कुरा राखियो।
२. आदिवासी जनजाति संस्थाहरूको संरक्षण र सुदृढीकरण
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानजस्ता संस्थाहरू कुनै एक समुदायका मात्र नभई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान संरक्षण गर्ने राष्ट्रिय संरचना हुन्।
यस्ता संस्थाहरूलाई कमजोर बनाउने होइन, अझ प्रभावकारी र सशक्त बनाउनेतर्फ राज्यको ध्यान जानुपर्ने आवश्यकता औँल्याइयो। संविधानको मर्म, संघीयताको भावना र ऐतिहासिक आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्दै अघि बढ्न आग्रह गरियो।
३. नयाँ राजनीतिक नेतृत्वको जिम्मेवारी र अपेक्षा
नयाँ पुस्ताको नेतृत्वबाट नयाँ सोच, नयाँ राजनीतिक संस्कार र समावेशी दृष्टिकोणको अपेक्षा गरिएको छ। माननीय मनिषा ज्यूले संसदभित्र र बाहिर आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम तथा सबै सीमान्तकृत समुदायको न्यायपूर्ण आवाजलाई सशक्त रूपमा उठाउनुहुनेछ भन्ने विश्वास व्यक्त गरियो।
हामी सरकारको विरोधका लागि होइन, संविधानको मर्मको रक्षा, समान नागरिक सम्मान, सामाजिक न्याय र समावेशी नेपालको निर्माणका लागि रचनात्मक आवाज उठाइरहेका छौं।
यस महत्वपूर्ण भेटघाट कार्यक्रमको सफल आयोजनाका लागि मधेसी एसोसिएसन अफ अमेरिका परिवारप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। विभिन्न समुदायबीचको एकता, सहकार्य र साझा मुद्दामा संवादले समावेशी नेपालको अभियानलाई थप मजबुत बनाउने विश्वास लिएका छौं।
माननीय मनिषा ज्यूको संयुक्त राज्य अमेरिकाको भ्रमण सफल, उपलब्धिमूलक र स्मरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।
पासाङ दोर्जे शेर्पा (एपी लामा)
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA)
